आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिम कर्णाली प्रदेश सरकार अन्तर्गत सञ्चालित आयुर्वेद स्वास्थ्य सेवा प्रदान गर्ने जिल्ला स्तरीय स्वास्थ्य संस्था हो । यो कार्यालय रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका-, खलंगामा अवस्थित रहेको छ ।

वि.सं. २०७४ मा रुकुम जिल्लालाई २ जिल्लामा विभाजन गरेपछि रुकुम पश्चिम र रुकुम पूर्व गरी दूई भागमा यो जिल्ला विभाजन भयो । हाल कर्णाली प्रदेश अन्तरगत पर्ने यस रुकुम पश्चिम जिल्लाको पूर्वी सीमानामा रुकुम पूर्व, पश्चिम सीमानामा जाजरकोट, उत्तरमा डोल्पा र दक्षिणमा सल्यान र रोल्पा जिल्लाहरु पर्दछन ।

यस केन्द्रले जिल्लाभित्र आयुर्वेद स्वास्थ्य सेवाको प्रवाह, समुदाय स्तरमा जनस्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन, सर्वसाधारणमा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि तथा आयुर्वेद चिकित्सा पद्धतिको उपयोग र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।रुकुम पश्चिम जिल्लाका नागरिकलाई सहज, गुणस्तरीय तथा प्रभावकारी आयुर्वेद सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित यस केन्द्रले स्वास्थ्य सेवा प्रवाहसँगै आयुर्वेद तथा स्वस्थ जीवनशैली सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । साथै जिल्लाभित्र सञ्चालित आयुर्वेद सम्बन्धी गतिविधिहरूलाई समन्वय, सहजीकरण तथा प्रवर्द्धन गर्ने कार्य समेत यस कार्यालयले गर्दै आएको छ ।

यस कार्यालयबाट चिकित्सकहरूद्वारा बिरामी परीक्षण सेवा, आयुर्वेद उपचार सेवा, योग तथा जीवनशैली व्यवस्थापन सेवा, पञ्चकर्म/पूर्वकर्म थेरापी सेवा, प्याथोलोजी ल्याब सेवा तथा नेपाल सरकारबाट तोकिएका ३५ थरी आयुर्वेद औषधिहरू निःशुल्क वितरण सेवाहरू , स्वास्थ्य परामर्श सेवा तथा विभिन्न रोगहरूको रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । समुदायमा आधारित निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, विद्यालय तथा समुदाय लक्षित जनचेतनामूलक कार्यक्रमहरू समेत नियमित रूपमा सञ्चालन गरिँदै आएको छ। यिनका साथै ज्येष्ठ नागरिकहरूको स्वास्थ्य प्रवर्द्धनका लागि तथा ६ महिना भित्रका सुत्केरी आमाहरूलाई लक्षित गरी दुग्धवर्धक औषधि वितरण गर्ने विशेष सेवाहरू पनि निःशुल्क रूपमा सञ्चालनरत छन् ।